काठमाडौँ । ट्राफिक प्रहरीको नियमित रात्रिकालीन चेकिङ गर्ने क्रममा गएराती मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका भाडा बसका चालक १ जना र ट्याक्सी चालक १ जना गरी २ जनालाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरूलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले मुद्दा चलाइएको हो ।
कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अगाडीको सडकमा बा ३ ख ४३ ८३ नम्बरको भाडा बसका चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका २ घर भइ हाल काठमाडौँको टोखा बस्दै आएका सरोज श्रेष्ठ, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका श्रेष्ठलाई अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरमा राखेर अनुसन्धान भइरहेको छ ।
त्यस्तै भक्तपुरको जगातीमा गएराती भएको ट्राफिक प्रहरीको चेकिङमा बा २ ज ५६ १५ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ११ घर भएका ४० वर्षीय अनिल धिताल, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका धिताल उपर अभद्र व्यवहार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।