काठमाडौं । मादक पदार्थ सेवन(मापसे) गरी मोटरसाइकल चलाउँदै गरेका १ जनासहित ५१ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरीले आज सोमबार बिहान काठमाडौँ उपत्यकाका विभिन्न स्कूल तथा कलेजका विद्यार्थीमा गरेको चेकिङमा ५१ जना विद्यार्थी कारबाहीमा परेको प्रहरीले जनाएको हो।
सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २८ जना, कागजपत्र साथमा नभएका २१ जना, तीन जना सवार १ जना र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ जना गरी ५१ जना विद्यार्थी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
प्रहरी वरिष्ठ उपरिक्षक भट्टका अनुसार नयाँबानेश्वको चेल्सी ईन्टरनेशनल एकेडेमीमा प्लस टू पढ्दै गरेका २१ वर्षीय एक विद्यार्थीलाई चेकिङ्गका क्रममा मदिरा पिएर बाग्मती प्रदेश ०२र०२३प ७३ ८६ नम्बरको मोटरसाइकल चलाएको पाइएपछि ट्राफिक प्रहरीले काठमाडौँको दरवारमार्गबाट कारबाही गरेको हो।
साउन ३० गतेबाट सुरु भएको स्कूल तथा कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हालसम्म १ हजार ८२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ।