काठमाडौँ । क्यानडाको सेन्ट्रल सास्काचेवान प्रान्तमा आइतवार धेरै मानिसहरूलाई छुरा प्रहार गर्ने दोस्रो संदिग्ध आक्रमणकारी मिल्स स्यान्डरसनको पनि मृत्यु भएको छ । सहायक पुलिस कमिश्नर रोन्डा ब्ल्याकमोरले सास्काचेवानमा हिरासतमा लिँदा उनलाई उपचार आवश्यक रहेको बताइन्। तर उनले मिल्स स्यान्डरसनको मृत्युको कारणबारे थप केही खुलाउन अस्वीकार गरिन् ।
पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने उनले बताइन् । तर, अर्का एक अधिकारीले चोटका कारण मृत्यु भएको आफूलाई लागेको सञ्चारमाध्यमलाई बताए । यसअघि यी घटनामा संलग्न डेमियन स्यान्डरसनको शव हमलाको एक दिनपछि एउटा घरमा भेटिएको थियो । डेमियन मिल्स स्यान्डसेर्नका दाजु थिए।
प्रहरीका अनुसार स्यान्डरसन मिल्सलाई बुधबार सास्काचेवान प्रान्तको रोस्टरनबाट स्थानीय समय अनुसार दिउँसो ३।३० बजे पक्राउ गरिएको हो । प्रहरीका अनुसार मिल्सविरुद्ध वर्षौंदेखि कैयौं आपराधिक मुद्दा दर्ता छन् । हिंसाको इतिहास भए पनि जनताले उनलाई जेलबाट रिहा गर्ने निर्णयमा प्रश्न उठाउँदै आलोचना गरिरहेका छन् ।
आइतबार विभिन्न १३ स्थानमा भएका आक्रमणमा १० जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । घाइतेमध्ये १० जना अझै अस्पतालमा छन् । जसमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ ।