काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी नजिकिँदै गर्दा कारोबार रकम भने अत्यन्तै तल झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६।४१ अंकले बढेर १८३७.४६ विन्दुमा पुगेको छ । नेप्से ०.३५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.४५ अंकले बढेर ३५९.५९ विन्दुमा पुगेको छ ।
कूल २२१ वटा कम्पनीको १३ लाख ७० हजार ४ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ४८ करोड ५४ लाख ८ हजार ७ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी ९ वटा उपसमूहको सेयर बढेको छ ।
बुधबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । संस्थाको संस्थापक सेयरको ४ करोड ७५ लाख ९७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ९.२० प्रतिशतले बढेर ३ सय ७४ रूपैयाँ पुगेको छ । यस दिन ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य १० प्रतिशतले घटेर ९ रूपैयाँमा झरेको छ ।