काठमाडौँ । काठमाडौं २ बाट पूर्वसभामुख ओनसरी घर्ती मगर उम्मेदवार बन्ने भएकी छन् । उक्त क्षेत्र निर्वाचन सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । स्थायी कमिटी सदस्य घर्तीलाई माओवादी केन्द्रले काठमाडौं २ मा उम्मेदवार बनाउने भएको हो ।
गठबन्धनमा काठमाडौं २ एकीकृत समाजवादीको भागमा पर्ने चर्चा हुँदा निर्वाचन नलड्ने मुड बनाएकी घर्ती यो क्षेत्र माओवादीको भागमा परेपछि उम्मेदवार बनेकी हुन् । अध्यक्ष प्रचण्डलाई भने उनले समानुपातिकमा नबस्ने तर, प्रत्यक्षमा चुनाव लड्ने बताएकी थिइन् ।
२०७० को निर्वाचनमा रोल्पा २ बाट निर्वाचित भएकी घर्ती त्यसपछि उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन् । २०७४ मा उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । अन्तरिम संसद र पहिलो संविधानसभामा सांसद रहेकी घर्ती त्यसबेला खेलकुद मन्त्री बनेकी थिइन् ।
जनयुद्धको समयमा माओवादी जनसेना र पार्टीको इन्चार्ज भएर उनले सोलुखुम्बु, काभ्रे र ललितपुरसहितका पूर्वी जिल्लामा समेत काम गरेकी थिइन् ।