काठमाडौँ । भारत उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ ।
समाजवादी पार्टीका संस्थापक समेत रहेका यादवको हरियाणाको गुरुग्रामस्थित मेदान्त अस्पतालमा निधन भएको हो । एकसाता देखि उक्त अस्पतालमा उपचाररत यादवको आज बिहान निधन भएको समाजवादी पार्टीका नेता अखिलेश यादवले ट्विट गर्दै बताएका छन् ।
अक्टोबर २ मा अक्सिजनको लेवल कम भएपछि आइसीयुमा भर्ना गरिएका यादवलाई युरिनमा इन्फेक्सन तथा उच्च रक्तचापको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
सन् १९८९ मा पहिलोपटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका यादवले तीनपटक उक्त प्रदेशको नेतृत्व गरेका थिए भने सातपटक सांसद बनेका थिए । उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए ।