काठमाडौँ । चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ। आज बिहान ४ बजे खैरहनी नगरपालिका- १२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच-छ वर्षको भाले गैँडा मरेको हो।
सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए। कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैँडा मरेको जानकारी दिए। बङ्गुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए। यो आर्थिक वर्षमा यससँगै दुई गैँडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्याङ्कअनुसार छ सय ९४ गैँडा छन्।