काठमाडौँ । सन्दीप लामिछानेलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई समय दिएको छ । जिल्ला अदालत काठमाडौँ लामिछानेलाई पाँच दिन म्याद थप गरेको हो।प्रहरीले लामिछानेलाई दोस्रो पटक म्याद थपका लागि बिहीबार अदालत लगेको थियो । प्रहरीले अनुसन्धान जारी रहेको भन्दै सात दिनको समय माग गरेको थियो ।
सन्दीपका वकिलले भने तीन दिन मात्रै दिनु पर्ने दाबी गरेका थिए । अदालतले प्रहरीलाई थप अनुसन्धानका लागि पाँच दिनको समय दिएको हो । अदालतले यसअघि गएको सोमबार पहिलो पटक म्याद थप गरेको थियो । नाबालिकमाथि बलात्कारको अभियोग लागेका लामिछानेलाई प्रहरीले यही असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो । उनीमाथि नाबालिक किशोरीले बलात्कारको अभियोग लगाउँदै प्रहरीमा उजुरी दिएकी हुन् । सन्दीपले आरोप अस्वीकार गर्दै आएका छन् ।