काठमाडौँ । छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ। तराई मधेससहित पहाडी क्षेत्रका अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ। तराई मधेसका प्रमुख पोखरी र नदी किनारमा बनाइएको घाटलाई सिङ्गारिएर पूजाको तयारी पूरा गरिएको हो।
छठ पूजाका लागि स्थानीय युवा क्लबले टेन्ट र पण्डाल लगाएका छन्। यस्तै ग्रामीण क्षेत्रका जलाशयमा समेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ। पूजास्थलका रूपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएका छन्। बजारमा छठीमैयाको महिमा भएका भोजपुरी र मैथिलीका गीत र घर–घरमा छठीमैयाका गीत भएका सिडी एल्बम गुञ्जिरहेका छन् ।
पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठ पनि एक मानिन्छ । यसरी दीपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ, त्यसरी नै छठ पर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ । कार्तिक शुक्ल चतुर्थीका दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुने पण्डित रामकुमार शास्त्रीले बताए।
यो पर्वमा खासगरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ।त्यसले गर्दा समेत यस पर्वको परम्परालाई उक्त रूपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् ।