जनकपुरधाम । प्रतिनिधिसभा तर्फ मधेस प्रदेशमा माओवादी केन्द्र निल भएको छ । आठवटा जिल्लाका ३२ प्रतिनिधिसभा क्षेत्रमा माओवादीले एक क्षेत्र पनि जितेन । पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रका ६ उम्मेदवार प्रतिस्पर्धामा थिए । यस्तै माओवादी केन्द्रकै चुनाव चिन्हबाट नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव पनि चुनावमा प्रतिस्पर्धा गरिरहेका थिए ।
मधेस प्रदेशको ३१ वटा क्षेत्रको मतपरिणाम आउँदा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन् । माओवादी केन्द्रको चुनाव चिन्हबाट लडेका महिन्द्र राय यादव भने लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गरेका हुन् ।
पाँच दलीय गठबन्धनमा रहेका माओवादी केन्द्रले सिरहा ३ मा विश्वनाथ साह, धनुषा १ मा मातृका प्रसाद यादव, महोत्तरी १ मा गिरिराजमणि पोखरेल, सर्लाही ३ मा नरेन्द्र साह कलवार, रौतहट ३ मा रवीन्द्र पटेल र बारा २ मा शिवचन्द्र प्रसाद कुशवाहालाई उम्मेदवार बनाएका थिए । तर ६ जना उम्मेदवार रहेपनि कोही जित निकाल्न सकेका छैनन् ।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रले ५ वटा निर्वाचन क्षेत्रमा जित हाँसिल गरेको थियो । तर यसपटक गठबन्धनमा रहेपनि कुनै क्षेत्रमा जित निकाल्न सकेको छैन। गत निर्वाचनमा माओवादी केन्द्रबाट सिरहा २ बाट सुरेश चन्द्र दास, धनुषा १ बाट मातृका प्रसाद यादव, महोत्तरी १ बाट गिरिराजमणि पोखरेल, सर्लाही ३ बाट रामेश्वर राय यादव र रौतहट ३ बाट प्रभु साह निर्वाचित भएका थिए ।