काठमाडौँ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलिले चोरीको मोटरसाइकल सहित सोमबार एक जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको रोशि गाँउपालिका घर भइ हाल काठमाडौँको बुढानिलकण्ठ बस्ने २८ वर्षिय वाङजु लामालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । स १० प १३ २७ नम्बरको २२० सि।सिको पल्सर मोटरसाइकल ललितपुरको ललितपुर महानगरपालिका १८ मगरगाँउबाट हराएको भनी ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा २०७८ कात्तिक २५ गते निवेदन परेको थियो ।
उक्त निवेदनको आधारमा खोजि गर्ने क्रममा सोमबार साँझ ५ बजे काठमाण्डौको बानेश्वरबाट परिवर्तित नम्बर बा ९३ प ८७८ प्रयोग गरी लामालाई चलाइरहेको अवस्थामा भेटेपछि ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि आज जिल्ला प्रहरी परीसर जावलाखेल ललितपुर पठाइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको
छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएकोमा स्वयं सवारी धनी पनि बिशेष सजग हुनुपर्ने र
सवारी चालक पनि थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र सवारी साधन पार्किङ गर्ने, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्ने गरेमा चोरी नियन्त्रणमा प्रभावकारी भुमिका खेल्नसक्ने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनु भएको छ । सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।