काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा दाबी नगर्न नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आलोपालो प्रधानमन्त्री हुने र दोस्रो कार्यकाल प्रचण्डलाई छोड्नेगरी सर्त अघि सारेका हुन् ।
तर, प्रचण्डले भने ‘पहिलो कार्यकाल आफैं प्रधानमन्त्री हुनुपर्ने’ पुरानै अडान दोहो-याएपछि कुरा मिल्न नसकेको हो । पछिल्ला केही दिनदेखि देउवा र प्रचण्डबीच प्रधानमन्त्री विषयमा लगातार छलफल जारी रहे पनि ‘पहिलो कार्यकाल को प्रधानमन्त्री हुने ?’ भन्नेमा विवाद हुँदै आएको छ ।
सोही कारण ‘प्रधानमन्त्री’ विषय पेचिलो बन्दै गएको छ । माओवादीले पहिलो चरणमा नै नयाँ सरकारको नेतृत्व पाउनुपर्ने आफ्नो अडानलाई नै गठबन्धनमा सहमतिको बटमलाइन बनाउने भएको छ ।
शनिबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई पहिलो चरणमा सरकारको नेतृत्व दिन नेपाली कांग्रेस सकारात्मक नदेखिएपछि माओवादी ‘अप्रिय’ निर्णय लिन बाध्य हुनसक्ने ‘मुड’ मा पुगेको बैठकमा सहभागी एक नेताले बताए । ‘आज सहमति हुने आशा झिनो छ । तैपनि एकपटक बसौँ भन्ने छ । अब बिहान बस्ने बैठकमा वारपार हुन्छ,’ उनले भने ।
पहिलो चरणमा नेतृत्व नपाए कुनै पनि हालतमा सरकारमा नजाने ती नेताले स्पष्ट पारे । माओवादीका शीर्ष तहका नेताहरूले नेकपा एमालेसँग पनि संवादलाई तीव्र पारेका छन् । सत्तारुढ गठबन्धन टुटेको खण्डमा एमालेसँग मिलेर भए पनि सरकार बनाउने प्रयासमा केही माओवादी नेताहरूले कसरत जारी राखेका छन् ।
कांग्रेसले ५७ सिट जित्दा माओवादीले त्योभन्दा ३९ सिट कम अर्थात् १८ मात्र जितेको छ । जुन निकै न्यून हो । कांग्रेसका अधिकांश नेता १८ सिट भएको पार्टीलाई प्रधानमन्त्रीको किस्ती सुम्पिएर ‘पछि कांग्रेस कुन मुख देखाएर जनतामा जान मिल्छ रु’ भनेर नेतृत्वसँग प्रश्न गरिरहेका छन् । संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय भोलि आइतबार साँझ ५ बजे सकिँदै छ ।
त्यतिबेलासम्म प्रधानमन्त्री दावी पेस गरिसक्नुपर्नेछ । त्यस्तो दावी कसैले पेस गर्न नसकेमा राष्ट्रपतिबाट ७६ (३) अनुसारको सरकार गठन गर्न आह्वान हुनेछ । ७६ (३) अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेता प्रधानमन्त्री चुनिन सक्ने व्यवस्था छ । त्यो प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ । सो अनुसार सरकार गठनका लागि आह्वान भए कांग्रेसका लागि सहज हुने बताइन्छ ।