काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका हुन् ।
माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने बारेमा प्रदेशसभालाई जानकारी गराइसकिएको बागमती प्रदेश सरकारका प्रवक्ता एवमं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए । जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ । ११० सदस्यीय बागमती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ ।
मंगलबार प्रतिनिधिसभामा माओवादी नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन गरेको कारण प्रदेशमा पनि कांग्रेसको समर्थन रहन सक्ने सम्भावना देखिन्छ । ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिए उनको समर्थनमा १०७ मत हुने छ ।