काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएसँगै राजनीतिमा नयाँ तरंग पैदा भएको छ । आफू नेतृत्वको गठबन्धन तोडेर एमालेको पहलकदमीमा प्रचण्ड मुलुकको ४४औं प्रधानमन्त्री नियुक्त भएपछि धेरैले अब कांग्रेस–माओवादीबीच पानी बाराबार हुने आँकलन गरेका थिए । तर, प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएर विश्वासको मत लिने बेलासम्म कांग्रेस र माओवादीबीच असाधारण सम्बन्ध सुधार भएको छ ।
प्रधानमन्त्री दाहाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विश्वासको मत माग्न नै पुगे । देउवाले पनि मत दिने सकारात्मक जवाफ दिए । र, प्रधानमन्त्रीले विश्वासको मत लिने दिन पुष २६ गते देउवाले पदाधिकारी, कार्यसम्पादन समिति हुँदै संसदीय दलको बैठक राखेर दाहाललाई विश्वासको मत दिने निर्णय गराए । प्रधानमन्त्री दाहालले कांग्रेससहित २६८ सांसदहरुको मत पाए । कतिपयले देउवाको उक्त कदमलाई सत्तामा फर्कने अस्त्रको रुपमा लिएका छन् ।
कतिपयले भने मुलुक संकटमा भएकोले सहमतिको राजनीति सुरु भएको भनेर देउवाको प्रशंसा पनि गरेका छन् । प्रधानमन्त्री दाहालले हिजो गोरखामा आयोजित एक कार्यक्रममा आफू नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिएका छन् । प्रधानमन्त्री दाहालको उक्त भनाई बाहिर आएसँगै के कांग्रेस पनि यो सरकारमा सहभागी हुँदैछ रु भनेर चासो र चर्चा सुरु भएको छ । कांग्रेसकै प्रभावशाली नेताहरु भने अहिले कांग्रेस सरकारमा सहभागी नहुने बताउँछन् ।
प्रधानमन्त्री दाहाल र देउवाबीच राष्ट्रपति कांग्रेसलाई दिनेबारे उच्चस्तरको समझदारी भएको चर्चा पनि छ । प्रधानमन्त्री दाहाल भने आजरभोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिने पक्षमा छन् । राष्ट्रपतिको निर्वाचन त माघ अन्तिसम्म हुनेछ । कांग्रेसको विश्वासको मत किन र के को लागि थियो भन्ने हेर्न राष्ट्रपतिको निर्वाचनसम्म कुर्नुपर्ने छ ।