काठमाडौँ । माघे संक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा एक महीनामै १ हजार ५०० मेट्रिक टनभन्दा बढी कन्दमूल भित्रिएको छ । पुसमा तरुल, सखरखण्ड र पिँडालु १ हजार ५३७ मेट्रिक टन भित्रिएको हो ।
पुस २८ गतेसम्ममा १६५ मेट्रिक टन सखरखण्ड, २४५ मेट्रिक टन पिँडालु र १ हजार १२७ मेट्रिक टन तरुल भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । यो परिमाण गतवर्षको सोही अवधिको भन्दा १८२ मेट्रिक टन कम हो ।
अहिलेसम्मको तथ्यांक हेर्दा गतवर्षको भन्दा कम परिमाणमा कन्दमूल भित्रिएको देखिए पनि शनिवारसम्ममा गतवर्षकै हाराहारीमा भित्रिन सक्ने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । उनका अनुसार अघिल्ला वर्षहरूमा व्यापारीहरूले कन्दमूल सीधै कालीमाटीमा ल्याउँथे । त्यसपछि काठमाडौंका अन्य स्थानीय बजारमा पठाउने गर्दथे । तर अहिले अन्य बजारमा पनि ठूलो परिमाणमा कन्दमूल भित्रिएकाले कालीमाटीमा गतवर्षको भन्दा केही कम देखिएको श्रेष्ठले बताए ।
समितिको मूल्य सूचीअनुसार यस वर्ष तरुलको औसत थोक मूल्य प्रतिकिलो ६६ रुपैयाँ छ । यस्तै सखरखण्डको ५६ र पिँडालुको ४६ रुपैयाँ रहेको छ । गतवर्षको यही समयमा तरुलको औसत थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ, सखरखण्डको ६५ रुपैयाँ र पिँडालुको ४५ रुपैयाँ थियो । यद्यपि तरुलको मूल्य जातअनुसार प्रतिकिलो २०० रुपैयाँसम्म रहेको सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार वनतरुल सबैभन्दा महँगो छ ।
कालीमाटीमा बारा, भक्तपुर, चितवन, दाङ, धादिङ, गोरखा, कञ्चनपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, पर्वत, रौतहट, सप्तरी, सिराहा, सुनसरी, तनहँुलगायत २६ जिल्ला र भारतबाट समेत कन्दमूल भित्रिने गरेको छ । यस वर्ष कालीमाटीमा सबैभन्दा धेरै तरुल सर्लाहीबाट आएको छ । यो महीना सर्लाहीबाट मात्रै ५१८ मेट्रिक टन तरुल भित्रिएको छ । त्यसैगरी भारतबाट १७७ मेट्रिक टन आयात भएको छ ।