काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय एक इन्च पनि विधि र पद्धतिबाट बाहिर नजाने जिकिर गरेका छन् ।
सभामुख पदको निर्वाचन प्रयोजनका लागि बिहीबार आज जारी रहेको संसद् बैठकमा नेपाली कांग्रेसले ‘हत्या अभियोग लागेका सांसद सदनमा उपस्थित भएको भन्दै‘ उठाएको सन्दर्भको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भने, ‘गृह मन्त्रालय एक इन्च पनि विधि र पद्धतिबाहिर जाँदैन । माननीयहरूले सांसद पक्रनूपर्छ भनेर भन्नुभयो । मैले यसअघि पनि भनिसकेको छु कि— कहीँ, कतै, केही काम गर्ने कुरामा दबाब र प्रभाव जमाउन कसैले नखोज्नूहोला ।’
यसअघि कांग्रेस सांसद रामहरि खतिवडाले ‘मैले सुनें यो सदनमा हत्या अभियोग लागेका सांसद पनि उपस्थित भएका छन् रे । म उनलाई चिन्दिन, तर यदि त्यसो हो भने उनलाई मतदानको अधिकार नदिइयोस । यसबारे म गृहमन्त्रीको ध्यानकर्षण गराउन चाहन्छु’ भनेर भनेका थिए ।