काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद् भवन पुगेर मगरले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम छिन् । यस्तै, नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक छन् ।
सत्ता साझेदार दलहरुका तर्फबाट रास्वापाकी मगरको उम्मेदवारी दर्ता भएको हो । शुक्रबार बिहान बसेको रास्वापा संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
प्रतिनिधि सभाको शनिबार बस्ने बैठकमा उपसभामुख चयनका लागि निर्वाचन (मत विभाजन) हुने कार्यतालिका छ।