काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने भएको छ । आज बिहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रपतिमा उम्मेदवारी दिने र यसका लागि अरू दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय बैठकले गरेको कांग्रेस नेता शशांक कोइरालाले जानकारी दिए । यसअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएर शीतल निवास पुग्ने दाबी गरेका थिए ।
राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेस नेताहरूले बताउँदै आएका छन् । सभामुख र उपसभामुखमा समेत उम्मेदवारी दिएको कांग्रेस सफल भएको थिएन । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने बताउँदै आएका छन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाउने उम्मेदवारको पक्षमा राष्ट्रिय सहमति हुनुपर्ने प्रतिक्रिया हालै दिएका छन् ।
अहिलेको सत्ता गठबन्धन निर्माणका क्रममा प्रधानमन्त्री नेकपा माओवादीले लिने अनि राष्ट्रपति र सभामुख एमालेको हुने सहमति भएको थियो ।