धनगढी । बिहीबार बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद् अरुणकुमार चौधरीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ । ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।
उनलाई बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौँ ल्याएर काठमाडौँबाट विमान मार्फत् नै धनगढी पुर्याइएको थियो। बिहीबार देखि चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई आज कैलाली जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनीलगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगो सहित ६ महिना कैदको फैसला सुनाएको थियो ।
नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद् चौधरीको रिहाइ माग गर्दै बिहीबार नै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ । पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन् ।
थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएको छ ।