काठमाडौँ । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत कांग्रेस नेता एवम् प्रतिनिधिसभाका सांसद् भण्डारी स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनको उपचारको नेतृत्व गरिरहेका डा।मुकेश मिश्रालाई उदृत गर्दै कांग्रेसका एक नेताले जानकारी दिए ।
उनका अनुसार नेता भण्डारीको अवस्था अहिले सामान्य बन्दै गएको छ। साथै शुक्रबारदेखि उनलाई नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ । शनिबार बिहान डिहाइड्रेसनका कारण पिसाव कम भएको र प्लेटलेस एक लाखमा झरेकोमा शनिबार साझसम्म तरल मात्रा बढाउँदा डिहाइड्रेसनको अवस्था सामान्य रहेको बताइएको छ ।
शनिबार दिउँसो उनको छातिको फिजियो थेरापी गरिएको र अहिले बाहिरबाट हेर्दा आँखा खुला हेरिराखेको बताइएको छ। अनुहारमा डढेको कालो छाला झरी नयाँ पलाउन लागेकोजस्तो पनि देखिएको बताइएको छ ।
यस्तै, कृतिम अक्सीजनको मात्रा ३५ प्रतिशतमा झारिएको र भोलिदेखि कृतिम अक्सिजनलाई शून्य प्रतिशतमा झार्ने तथा प्राकृतिकरूपमा श्वास प्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डा। मिश्रालाई उदृत गर्दै ती नेताले बताएका हुन् ।
ग्यास विस्फोटमा परी कांग्रेस नेतासहित उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी पनि गम्भीर घाइते भएकी थिइन् । शरीरको ७० प्रतिशत भाग जलेकी आमाको उपचारका कीर्तिपुर अस्पतालमा निधन भएको हो ।