काठमाडौं । फागुन २५ र चैत ३ मा हुने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले निर्वाचनका लागि फागुन १७ गतेदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिएको हो ।
राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्ने आयोगले जनाएको छ ।
त्यस्तै राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ ।
आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबैलाई आग्रह गरेको छ । आचारसंहिता अन्तर्गत मतदानको ४८ घन्टा अघिदेखि सभा, जुलुस, नाराबाजी, साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने भनिएको छ ।
बाजा, सार्वजनिक भोज, हुलहुज्जत गर्न नपाइने, हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था आचारसंहितामा छ । मादक पदार्थ पनि निषेध गरिएको छ । निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० जना गरी ८८२ जना मतदाता रहन्छन् ।