काठमाडौँ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएका ८ दलले बिहीबार आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्।
प्रशिक्षण काठमाडौँको तीनकुनेस्थित रोयल व्याङ्क्वेटमा आज दिउँसो १ बजेदेखि अभिमुखीकरण कार्यक्रम सुरु हुनेछ। राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो।
प्रशिक्षण कार्यक्रममा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अभिमुखीकरण कार्यक्रममा शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
नेकपा एमालेबाट राष्ट्रपतिको निर्वाचनमा सुवाष नेम्वाङ उम्मेदवार रहेका छन्। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाताले मतदान गर्नेछन्।