एजेन्सी । ओस्कारलाई लिएर विश्वभरका स्टारहरुमा निकै क्रेज छ । यतिबेला ९५ औं ओस्कर अवार्डको चर्चा जताततै भइरहेको छ । अवार्ड समारोहको सबै तयारी पनि भइसकेको छ । तर, त्यो भन्दा पहिले जानौं किन स्टारहरु यसको लागि यति उत्सुक छन् र कसरी सुरु भएको थियो रु
ओस्कार फिल्म उद्योगको सबैभन्दा ठूलो अवार्ड
ओस्कार एकेडेमी अवार्ड, जसलाई ओस्कर अवार्ड पनि भनिन्छ, चलचित्र जगतको सबैभन्दा ठूलो अवार्ड हो । यो अमेरिकाको एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले फिल्म निर्देशक, अभिनेता, लेखक र फिल्म जगतसँग सम्बन्धित व्यक्तीहरूलाई उनीहरूको उत्कृष्ट कामको सम्मान गर्न प्रदान गर्दछ ।
यी व्यक्ती मिलेर बनाएका थिए ओस्कर अवार्डको योजना
एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसको स्थापना १९२७ मा मोशन पिक्चर उद्योगका सबैभन्दा प्रतिष्ठित व्यक्तिहरू मध्ये ३६ जनाले मिलेर सुरु गरेका थिए । १९२७ को प्रारम्भमा, लुइस बी मेयर, एमजीएम स्टुडियोका प्रमुख, मेयर र उनका तीन अतिथिहरू, अभिनेता कोनराड नागेल, निर्देशक फ्रेड निब्लो र निर्माता फेडे बीट्सनले सम्पूर्ण फिल्म उद्योगलाई फाइदा पुग्ने योजना सहित संस्था गठन गर्ने योजना बनाएका थिए ।
ओस्कार अवार्डका लागि राखिएको थियो प्रस्ताव
यी व्यक्तिहरूले चलचित्र सृजनात्मक कार्यसँग सम्बन्धित व्यक्तिहरूको अगाडि यो प्रस्ताव राख्ने योजना बनाएका थिए । त्यसपछि ११ जनवरी १९२७ मा लस एन्जलसको एम्बेसेडर होटलमा डिनर पार्टी भयो । ११ मे १९२७ मा एकेडेमीलाई एनजीओको रूपमा राज्यले चार्टर प्रदान गरेपछि बिल्ट मोर होटलमा औपचारिक भोजको आयोजना गरियो । त्यसपछि ३०० अतिथिहरू मध्ये २३० जनाले १०० डलर शुल्क तिरेर एकेडेमीको सदस्यता लिएका थिए ।
पहिलो ओस्कार अवार्ड आयोजना
हलिउड रुजवेल्ट होटलमा पहिलो एकेडेमी अवार्ड समारोह आयोजना गरिएको थियो । १६ मे १९२९ मा होटलको ब्लसम रुममा भएको डिनरमा २७० जना सहभागी थिए । यो टिकटको साथ एक सशुल्क कार्यक्रम थियो, जसको लागि ५ डलर तिर्नुपर्ने थियो । सन् १९२९ मा दिइएका यो अवार्ड सन् १९२७–१९२८ सम्म बनेका फिल्मसँग सम्बन्धित १५ जनालाई प्रदान गरिएको थियो ।
समयसँगै परिवर्तन
सन् १९२९ मा पहिलो ओस्कार अवार्ड आयोजना हुँदा तीन महिनाअघि विजेताहरूको नाम घोषणा गरिएको थियो । दोस्रो ओस्कार अवार्ड समारोहको क्रममा आयोजकले कार्यविधि परिवर्तन गरी अवार्ड समारोहको अन्तिम रात ११ बजे विजेताको सूची मिडियालाई दिएको थियो । यो परम्परा १९४१ सम्म जारी रह्यो । १९४१ पछि, विजेताहरूको नाम समारोहमा नै घोषणा गर्न थालियो ।
सुरुमा प्लास्टरको बनाइएको थियो ट्रफी
१९२७ मा, एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एन्ड साइन्सले धेरै लस एन्जलस कलाकारहरूलाई ओस्कर पुरस्कार ट्रफीको लागि आफ्नो डिजाइन पेश गर्न आग्रह गर्यो । विभिन्न डिजाइनहरू मध्ये, मूर्तिकार जर्ज स्टेनली द्वारा बनाईएको एक रुचाइएको थियो । तर, त्यसबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो र त्यसका कारण धातुको ठूलो अभाव थियो, त्यसैले तीन वर्षसम्म प्लास्टरको सहयोगमा यो ट्रफी तयार गरिएको थियो ।
संसारभरका चलचित्रहरूलाई निमन्त्रणा
हलिउड फिल्महरू मुख्य रूपमा ओस्कारका लागि छनोट हुन्छन् । तर, यस अवार्ड समारोहमा ‘उत्कृष्ट विदेशी भाषाको फिल्म’को विधा पनि छ । यस श्रेणीको लागि, ओस्कर एकेडेमीले संसारभरका चलचित्रहरूलाई निम्तो दिन्छ ।