काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सहमहामन्त्री बुर्लाकोटीका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्नेबारेमा निर्णय लिनेछ । यसैगरी, समसामयिक परिस्थितिबारे पनि छलफल हुनेछ ।
उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ । निर्वाचनमा १० दलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र नागरिक उन्मुक्ति पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । यता नेकपा एमालेबाट उपाध्यक्ष अष्ट्रलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् ।