काठमाडौं । विश्वकप लिग २ को अन्तिम खेलमा बिहिबार यूएईलाई डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गरेर नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको छ ।
यूएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुग्न सफल रह्यो । विश्वकप लिग–२ का सहभागी ७ टोलीमध्ये शीर्ष ३ टोली विश्वकप छनोटमा पुग्ने प्रावधान थियो ।
आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा हुने विश्वकपको विश्वस्तरको छनोटमा १० टोली सहभागी हुनेछन् । त्यहाँ आईसीसीका १२ पूर्ण सदस्य र नेदरल्यान्ड्सले खेलिरहेको सुपर लिगका अन्तिम ५ टोली रहने छन् ।
तीमध्ये नेदरल्यान्ड्स र जिम्बावेले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ । विश्वकप छनोटमा विश्वकप लिग–२ बाट नेपाल, ओमान र स्कटल्यान्ड पुगेका छन् । अब बाँकी दुई टोलीको टुंगो विश्वकपको विश्वस्तरको छनोटका लागि हुने प्ले अफबाट लाग्ने छ ।
प्ले अफमा विश्वकप लिग २ का अन्तिम ४ टोलीहरु नामिबिया, अमेरिका, यूएई र पीएनजी तथा च्यालेन्ज लिगका शीर्ष दुई टोली जर्सी र क्यानडा भिड्नेछन् । त्यहाँबाट दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । विश्वकप छनोटबाट भने केवल दुई टोली मात्र विश्वकपमा पुग्ने छन् ।
विश्वकप छनोटमा सहभागी १० टोलीलाई पहिलो चरणमा दुई वटा समूहमा विभाजन गरिने छ । समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा शीर्ष २ स्थानमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
विश्वकपमा सोझै छनोट भएका ७ टोली तय भइसकेको छ । भारत, न्युजिल्यान्ड, इङ्ल्यान्ड, अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान र अफगानिस्तान सोझै विश्वकपका लागि छनोट भइसकेका छन् ।
अब वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोली सोझै छनोट हुने छ । तीमध्ये बाँकी तीन टोलीले विश्वकप छनोट खेल्नुपर्ने छ ।