काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘कोर टीम’लाई पनि कारबाही हुने बताएका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं। २ बाट उम्मेदवारी दिएका लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूलाई सम्बोधन भनेका छन्, ‘कोर टीमलाई पनि कारबाही हुन्छ ।’
यसअघि २ करोड ‘बार्गेनिङ्ग’मा परेका रास्वपा सांसद डा। ढाकाकुमार श्रेष्ठले आफूसँग कोर टीम भएको र उक्त पैसा कोर टीमलाई बुझाउने बताएका थिए । अहिले सांसद श्रेष्ठ निलम्बनमा परिसकेका छन् । यही सन्दर्भ सम्झाउँदै लामिछानेले भनेका छन्, ‘त्यो कोर टीम भनिएको को हो मलाई थाहा छैन । तर, कारबाहीको भागीदारचाहिँ त्यो कोर टीम पनि हुनुपर्छ । गलत काम गर्नेलाई पार्टी जोगाउँदैन । त्यो कोर टीमलाई कारबाही हुन्छ ।’
उनले आफूलाई र आफ्नो पार्टीलाई हराउने शृङ्खलाबद्ध अभियान चलेको आरोप लगाएका छन् । ‘पार्टी सुद्धीकरणमा सहयोग गर्ने साथीहरूलाई धन्यवाद । जसले त्यो रेकर्ड बाहिर ल्याइदिनुभयो, त्यसलाई म सम्मान नै गर्छु । तर, पार्टीलाई हराउने तवरले एकपछि अर्को अभियान चलाउनेसँग सहमत हुन सकिँदैन । म रहेपनि म नरहेपनि यो अभियान र मेरो पार्टी रहिरहन्छ,’ उनले भनेका छन् ।