काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले शनिबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा ६८६ जना चालकहरू सहभागी भएका छन् । आज गरिएको सडक सचेतता कार्यक्रममा कालिमाटीमा १५० जना, कमलविनायकमा ११० जना, नगरकोटमा ६० जना, सातदोबाटोमा ५७ जना, थापाथलीमा ४८ जना, सोह्रखुट्टेमा ४० जना, साँखु र कीर्तिपुरमा ३०/३० जना, नयाँबसपार्क,कपन, भक्तपुर,नेपालटारमा २५/२५ जना,फर्पिङमा २० जना, काँडाघारीमा १७ जना, कमलपोखरीमा १५ जना र टोखामा ९ जना गरी ६८६ जना चालकहरू सहभागी भएका हुन् ।
कार्यक्रममा चालकहरूलाई मादक पदार्थ सेवन, लागुऔषध सेवन, र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो । त्यस्तै तिव्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानूनका बारेमा पनि सजग गराइएको थियो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले “सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्ने उद्देश्यका साथ चालक लक्षित चेतनामूलक कार्यक्रम गरिएको”बताउनु भएको छ । ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले समय अभावलाई मध्येनजर गरी चेतनामूलक कार्यक्रम गरिएको पनि उहाँले बताउनु भयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूले सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियाननै चलाएर चालक सहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको समेत प्रवक्ता भट्टले जानकारी दिनुभयो ।