एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको छ । दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।
जितका लागि पाएको १ सय ७३ रनको लक्ष्य पछ्याएको मुम्बईले ४ विकेटको क्षतिमा २० ओभर खेल्दै १ सय ७३ रन बनाएर जित निकाल्यो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ६५ रन बनाए । उनले ४५ बलमा ६ चौका र चार छक्काको मद्दतले ६५ रनको इनिङ खेले ।
तिलक वर्माले २९ बलमा एक चौका र चार छक्काको मद्दतले ४१ रन बनाए । इशान किशनले पनि ३२ बलमा ३१ रन बनाए । सूर्यकुमार यादवको असफलताको शृङ्खला जारी रह्यो । उनले यो खेलमा पनि खाता खोल्न सकेनन् ।
यो जित मुम्बईका लागि त्यति सजिलो भने थिएन । मुम्बईलाई अन्तिम ओभरमा पाँच रन र अन्तिम बलमा दुई रन आवश्यक थियो । टिम डेभिडले दुई रन बनाएर टोलीलाई सिजनको पहिलो जित दिलाए ।
दिल्ली क्यापिटल्सले भने यो सिजनका अहिलेसम्मका चारै खेलमा हार व्यहोरेको छ । मुम्बईविरुद्ध पहिले ब्याटिङ गरेको दिल्लीले १९।४ ओभरमा १ सय ७२ रन बनाएको थियो । उसका लागि डेभिड वार्नर र अक्षर पटेलले अर्धशतक बनाए ।
पटेल दिल्लीको इनिङ्सका नायक बने । पटेल ब्याटिङमा आउँदा दिल्लीले १२।३ ओभरमा पाँच विकेट गुमाएर ९८ रन बनाएको थियो । १९ औँ ओभरको पहिलो बलमा उनी आउट हुँदा टोलीको स्कोर ६ विकेटको क्षतिमा १ सय ६५ रन पुगेको थियो । यो अवधिमा टोलीले कुल ६७ रन जोडेको थियो ।
यो ६७ रनको साझेदारीमा पटेलले २५ बल खेल्दै ५४ रन बनाएका थिए । उनले आफ्नो पारीमा चार चौका र पाँच छक्का प्रहार गरे । डेभिड वार्नरले ४७ बलमा ६ चौकाको मद्दतले ५१ रन बनाए ।
दिल्लीको इनिङ्सको १९ औँ ओभर एक हिसाबले टर्निङ प्वाइन्ट थियो । यो ओभरमा दिल्लीको चार विकेट खसेको थियो । मुम्बईका जेसन बेहरेनडर्फले पहिलो बलमा पटेललाई र तेस्रो बलमा वार्नरलाई आउट गरे । चौथो बलमा कुलदीप यादव र अन्तिम बलमा अभिषेक पोरेल रनआउट भए ।
दिल्लीले पूरा २० ओभरसम्म ब्याटिङ गर्न सकेन । अन्तिम पाँच विकेट सात रनमै खसेको थियो । ३५ वर्षीय पियुष चावला मुम्बईका उत्कृष्ट बलरका रूपमा उभिए । उनले ४ ओभरमा २२ रन दिएर तीन विकेट लिए ।