काठमाडौं । नेपाली हिमाल आरोही कामिरिता शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । आफ्नै रेकर्डलाई भंग गर्दै उनी आज विहान ८ बजेर ३० मिनेटमा २७ औँ पटक सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट टेक्सले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् ।
यसअघि उनले तीन सिजनमा दुई दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथाको आरोहण गरेका थिए ।
साथै २०१९ मा ६ दिनमा २ पटक, २०२१ र २०२२ मा क्याम्प–२ देखि सगरमाथाको चुचुरोसम्म डोरी टाँग्न नेतृत्व समेत गरेका थिए । यस सिजनमा भने उनले सेभेन समिट टेक्स र फोर्टिन पिक्स एक्स्पीडिशनको टिमलाई नेतृत्व गर्दै सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका शेर्पाको ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।