काठमाडौं । सरकारले युवालाई व्यवसाय गर्न सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट प्रस्तुत गर्दै आगमी वर्षदेखि युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बताएका हुन् ।
त्यस्तै, अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) को परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरु पनि सहभागी हुन पाउने भएका छन् । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा दिन पाउँथे ।
आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले भने, ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइने छ ।’
अर्थमन्त्री डा. महतले आधारभूत तहका शैक्षिक योग्यता शिक्षकलाई माथिल्लो तहको रिक्त दरबन्दीमा समायोजन तथा स्तरोन्नती गरिने समेत बताए । साथै सामुदायिक विद्यालयका शिक्षकसँग स्थानीय तहको कार्यसम्पादन करार गरी कार्यसम्पादन स्तरलाई वृत्ति विकाससँग आबद्ध गर्ने व्यवस्था गरिने छ ।
शैक्षिक सत्र सुरु हुनु अगावै सामुदायिक विद्यालयहरुका सबै विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक र विद्यालयमा पाठ्यपुस्तक तथा पाठ्यक्रमको विद्युतीय प्रति पनि उपलब्ध गराइने छ । यस कार्यक्रमको लागि रु तीन अर्ब ५८ करोड बजेट छुट्याइएको अर्थमन्त्री महतले जानकारी दिए ।