काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफू दु:खमा साथ दिन तयार रहेको बताएका छन् ।
आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दलले उल्टै मुद्दा हालेको गुनासो गरेका थिए ।
‘पसिनाको भेल बगाएर अनेक दुस्ख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाइ दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू,’ साम्पाङले लेखेका छन् ।
उनको पोस्टमा प्रतिक्रिया जनाउँदै बालेनले आफू दुस्खमा साथ दिने बताएका हुन् । ‘केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर, केही फरक पर्दैन । तपाईं यति अगाडि पुगिसक्नु भो कि, पछाडि जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथ होलान्, दुस्खमा हामी छौँ, म छु, सधैँ हुनेछौँ,’ बालेनले भनेका छन् ।