बैतडी । पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ ।
स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन गर्न लगाएका थिए । उनले श्रीमतीको नाम राखेर श्यामा क्लिनिक चलाउँदै आएको पत्ता लागेको छ ।
पुर्ख्यौली घर जनकपुर भए पनि विगत १७ वर्षदेखि बैतडी बस्दाबस्दै श्यामाले स्थानीय बिरामीसँग बैतडेली र डोटेली भाषा बोल्ने गरेको पाइएको छ । श्यामाले नै बिरामीको रगत तानेर ल्याबमा परीक्षण गर्ने गरेको बताइएको छ । उनमा स्वास्थ्य उपचार तथा औषधीसम्बन्धी कुनै शिक्षा नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासन कार्यालयले स्थानीयको जनगुनासोपछि गत जेठ २ गते मेडिकल सिल गरेको थियो । प्रशासनले सिल गरेको मेडिकल पुनः सञ्चालन गरी बिरामीलाई सुई लगाउँदा लगाउँदै प्रहरीले श्यामा साहलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले प्रशासन कार्यालयले अवैध ठहर गर्दै सिल गरिएको श्यामा क्लिनिक पुनः सञ्चालन गरेको पाइएपछि सञ्चालक श्यामालाई पक्राउ गरिएको बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।