काठमाडौं । राजमार्गमा दुई वटा ट्रक ठोक्किँदा भीषण आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गका मनहरी गाउँपालिका ६, डिपाट सडक खण्डमा गएराति भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
दुईवटा ट्रक जुधेपछि लागेको आगोमा ट्रकमा सवार तीन जनाको ज्यान गएको छ । मृतकहरुको नाम र हुलिया खुलेको छैन । राति पौने २ बजे पूर्वबाट नारायणगढतर्फ गइरहेको ना. ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशाबाट हेटौंडातर्फ आइरहेको ना. ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँएको हो ।
दुर्घटना लगत्तै घटनास्थल पुगेपनि दमकलको सुविधा नहुँदा आगो निभाउन नसकिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालले बताए ।
‘भनेको समयमा दमकल पाइएन, पछि २ वटा दमकल आएर बल्ल बल्ल आगो निभाइयो’, उनले भने, ‘भयंकर आगलागी भएको ट्रक र जलेका शवलाई निकालेपछि बिहान साढे ६ बजेदेखि राजमार्ग सुचारु भएको छ ।’