काठमाडौं । शान्ति मिसनमा गएका एक नेपाली सेनाले आत्महत्या गरेका छन् । संयुक्त राष्ट्र संघको आह्वानमा दक्षिण सुडान शान्ति मिसनमा गएका अमल्दार रामबहादुर बाँठाले आत्महत्या गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जाजरकोटको खलंगा गाउँपालिका ६ निवासी श्री शेरगण बाह्रौँ डफ्फाका अमल्दार बाँठा हिजो मृत भेटिएका हुन् । उनको शव दक्षिण सुडानको रुम्बेकस्थित गण हेटक्वाटरमा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको सेनाको निमित्त प्रवक्ता एवम् महासेनानी अशोक गुरुङले जानकारी दिए ।
शवको पोष्टमार्टम रिपोर्ट नआए पनि घटनाको प्रकृति हेर्दा हत्या जस्तो नदेखिएको चिकित्सकको भनाइलाई उद्यृत गर्दै महासेनानी गुरुङले बताए । अहिले मृतक बाँठाको शव पोष्टमार्टम र अनुसन्धानका क्रममा रहेको सेनाले बताएको छ । पोष्टमार्टमपछि उनको शव स्वदेश ल्याउने तयारी भइरहेको छ ।