काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।
तुलसीपुर दाङबाट काठमाडौंतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।
बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घाइते सल्यान सबेश्वरी ३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका १० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।