काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ। मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको हो ।
त्यस्तै, शुक्रबार बिहान सोही विद्यालयको दुई वटा शौचालय बगाएको थियो । यद्यपि बाढीका कारण अवरुद्ध भएको मेलम्ची नगरपालिकाका विभिन्न स्थानका सडक भने सञ्चालनमा आएका छन् । त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको छ ।
पहिराले मेलम्चीनगरका आधा दर्जन घर जोखिममा छन् । आवश्यक सतर्कता अपनाउन मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ । विभिन्न स्थानमा गएको पहिरोको कारण हाइटेसन लाइनको पोल ढलेको छ भने ठाउँ ठाउँमा विद्युत् अवरुद्ध भएको छ ।
पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्य मार्ग पहिरोको कारण अवरुद्ध छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार जिल्लाको अधिकांश ठाउँमा बाढी र पहिरो जाने क्रम बढी रहेको छ ।