काठमाडौं । मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ । अक्टोबर २ मा बाहिरिने गर्छ । तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ । यसलाई जलवायु परिवर्तनको दीर्घकालीन असर मान्न सकिने मौसमविद्हरू बताउँछन् ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार सन् २००० यताका १३ वर्षमा मनसुन ढिला बाहिरिएको छ । पछिल्लो मनसुन भित्रिन समय पनि ढिलाइ भइरहेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अझै सातादिन जस्तो मनसुन सक्रिय रहने देखिन्छ ।
त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ । हाल भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको छ । पौडेलले भने, ‘चार पाँच दिन अझै केही बद्ली हुने र पानी पर्ने देखिन्छ । त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ ।’ जलवायु परिवर्तनका कारण मौसम ढिला भित्रिने र ढिलै बाहिरिने क्रम दोहोरिन थालेको उनको भनाइ छ ।
‘वायुमण्डल र समुद्रको सर्कुलेसनले वाष्पीकरण हुने तथा पानी पार्ने चक्रमा कहीँ न कहीँ थोरै मात्रामा असर छ,’ पौडेलले थपे ‘ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनको दीर्घकालीन असर हुन सक्छ । त्यसलाई ‘क्लाइमेट भेरीबेलिटी’ पनि भन्छौं ।’
मुलुकमा पानी पर्ने प्रणाली र प्रक्रियामा पनि परिवर्तन आएको छ । सुक्खा हुने वा अत्यन्त वर्षा हुने क्रम बढ्दै गएको छ । धेरै वर्षा हुने ठाउँमा कम वर्षा हुने र कम वर्षा हुने ठाउँमा धेरै वर्षा भएका घटना छन् ।
चरम मौसमी अवस्थाहरू पनि देखिएका छन् । अत्यधिक जाडो र अत्यधिक गर्मी हुन थालेको छ । जल तथा मौसम विभागका मौसमविद् सुदर्शन हुमागाईँ जलवायु परिवर्तनको कारण मनसुन बहिर्गमनमा ढिलाइ भएको हुन सक्ने बताउँछन् ।
पछिल्लो समय नेपालमा अक्टोबरको आधासम्म पनि पानी पर्ने क्रम बढेको छ । हुमागाईंले भने, ‘कुनै वर्ष ढिलोछिटो हुनु सामान्य प्रक्रिया हो । तर, सन् २००० यताका वर्षहरूमा धेरैजसो वर्ष मनसुन बाहिरिने समय पछाडि धकेलिँदै जानुले जलवायुको असर मान्न सकिन्छ ।’