काठमाडौं । चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ भोलि सोमबारदेखि खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता ईश्वरी पनेरुले भोलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गर्ने जानकारी दिए ।
सार्वजनिक यातायात सेवा प्रदायकहरुले चाडपर्व लक्षित गरी यातायात सहजताका लागि टिकट बुकिङ खुला गरिने भएको हो । उहाँले यातायात व्यवसायीले अग्रिम टिकटका लागि यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाइने जानकारी दिए ।
यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ल्होत्से बहुउद्देश्य प्रा.लि., उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, गराउने र यात्रुले समेत सवारीमा मादक पदार्थ सेवन गरी यात्रा गर्न नहुने उनले बताए ।
उनका अनुसार सवारी चालकले यात्रुलाई खानारखाजा खुवाउने स्थानमा भीडभाड गर्न नहुने, अनधिकृत काउन्टर, परिचयपत्र, पोशाक नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्य पूर्णतयाः नियन्त्रण गर्ने, गराउने व्यवस्था मिलाइएको छ ।
मुख्य सडकलाई मर्मत, सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन विभागले सम्बन्धित निकायलाई अनुरोध पनि गरेको छ । यस्तै, नेपाल यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार अब देशैभरमा अग्रिम टिकट बुकिङ खुला हुनेछ ।
उनले काठमाडौं नयाँ बसपार्क गोंगबुको टिकट काउण्टरमा पोशाक, परिचयपत्र सहितका व्यक्तिहरु यातायात सहजताका लागि खडा हुने बताए । यसका साथै हेल्प डेस्क पनि राखिने छ ।