पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम धुम्म देखिएको छ । दिउँसोको समयमा घाम नलाग्दा सामान्यभन्दा चिसो महसुस गरिएको अनुभव मानिसहरूले सुनाइरहेका छन् ।
भारतको मध्य प्रदेश र राजस्थानमा विकास भएको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको असरका कारण नेपालका अधिकांश ठाउँमा बदली भएर चिसो बढेको मौसमविद्हरू बताउँछन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल यो बादलले वर्षा गराइहाल्ने सम्भावना भने नरहेको बताउँछन् ।
“देशैभरि आंशिकदेखि सामान्य बदलीको अवस्था रहे पनि हावामा आर्द्रताको मात्रा पर्याप्त नभएपछि दुई तीन दिनदेखि नै आकाशमा खाली बादल देखिने, अलिकति सूर्यको तेज बढ्यो भने दिउँसोतिर छरिएर घाम लागेजस्तो हुने र बेलुका भएपछि फेरी ढाक्ने अवस्था छ,” अर्याल भन्छन् ।
“तर पानी नै पर्न सक्ने स्थिति चाहिँ छैन । परिहाले पनि फाटफुट वर्षामात्रै हो ।” समुद्र सतहभन्दा तीन हजारदेखि चार हजार मिटरभन्दा माथिका उच्च पहाडी र हिमाली क्षेत्रमा भने सामान्य हिमपात हुने पूर्वानुमान गौचरस्थित मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
केही दिनदेखि नेपाली आकाशमा डुलिरहेको बादल शुक्रवारबाट क्रमशः कम हुँदै गए पनि देशका अधिकांश स्थानको तापक्रम घट्दो क्रममा रहेको मौसमविद्हरू बताउँछन् ।
चिसो कति बढ्ला
महाशाखाका अर्का मौसमविद् गोविन्द झाका अनुसार निरन्तरको बदलीका कारण देशका अधिकांश स्थानमा अधिकतम तापक्रम नघटे पनि न्यूनतम तापक्रम घट्ने देखिएको बताउँछन् ।
“भारतमा विकसित भएको न्यून चापीय प्रभावका कारण हावाको प्रवाह दक्षिण-पश्चिम र पश्चिमी वायुको प्रभावका कारण प्रवाह उत्तर-पूर्वतर्फ भइरहेको छ । त्यस कारण बदली बिस्तारै हटेर तापक्रम धेरै घटिहाल्ने देखिँदैन,” झा भन्छन्।
पछिल्लो केही दिनयता काडमाण्डूको अधिकतम तापक्रम २२◦C को हाराहारी र न्यूनतम तापक्रम ९◦C सम्म झरेको छ । काठमाडौंको न्यूनतम तापक्रम बुधवार १० ◦C र बिहीवार ९◦C थियो ।
बुधवार -४ ◦C सम्म पुगेको जोमसोमको न्यूनतम तापक्रम बिहीवार थप घटेर -५ ◦C सम्म पुगेको थियो । धनगढी, भैरहवा, जनकपुर र विराटनगरको पनि न्यूनतम तापक्रम बुधवारभन्दा बिहीवार केही घटेको महाशाखाको तथ्याङ्कमा देखिन्छ ।
चिसोमा कस्तो सङ्क्रमण हुन सक्छ ?
जाडो मौसममा पानी नपर्दा प्रदूषण उच्च रहने र त्यसले स्वास्थ्य समस्या निम्त्याउनसक्ने फोक्सो तथा क्रिटिकल केअर विशेषज्ञ डा. रक्षा पाण्डे बताउँछिन् । जाडोमा इन्फ्ल्युएन्जा र रुघाखोकी गराउने भाइरस र श्वासप्रश्वास समस्या निम्त्याउने आरएसबी भाइरसहरू सक्रिय हुने उनी बताउँछिन् ।
“यस्ता भाइरसहरू देखिने भएर रुघाखोकी जाडो मौसममा बढ्ने हुन्छ । दम जस्ता दीर्घरोग, एलर्जी वा नाक सम्बन्धी समस्या नभएका मानिसहरूलाई पनि रुघाखोकीहरू लाग्ने वा ज्वरो आउने धेरैजसो भाइरल सङ्क्रमणले हुन्छ,” पाण्डे भन्छिन् ।
“त्यही कुरा दीर्घरोगीलाई हुँदा उहाँहरूलाई भइरहेको रोग बढ्न सक्छ ।” जाडो मौसममा बहने हावा सुक्खा हुने भएकाले हाम्रो श्वास नलीमा पनि चिटचिडाहट निम्त्याउने चिकित्सकहरू बताउँछन् । जसकारण खोकी जस्ता समस्या देखा पर्छन् ।
चिसोमा हुने सङ्क्रमणबाट बच्ने उपाय के छन् ?
चिसो मौसममा हुने स्वास्थ्य समस्याबाट बच्नका लागि शरीरलाई न्यानो राख्नुपर्ने पाण्डे बताउँछिन् । “न्यानोमा बस्ने, झोल कुराहरू बढी खाने, आराम गर्ने गर्नुपर्छ। दमको रोगीहरूले चाहिँ यस्तो बेला इनहेलरहरू अलिकति बढाउनुपर्ने हुन्छ,” उनले भनिन् ।
कतिपय मानिसहरू चिसो मौसममा फलफूल खान डराउने गरेको भए पनि फलफूलले कुनै खराबी नगर्ने पाण्डे बताउँछिन् । “फलफूलहरू खान डराउनु पर्दैन । फलफूल, दूध, केरा जे खाए पनि हुन्छ । दमका रोगीहरूले पनि दमकै लागि चाहिँ खाना बार्नु पर्दैन,” उनले थपिन् ।
जाडो महिनामा साधारणतया देखा पर्ने रुघा, खोकी र ज्वरोको समस्या साधारणतया केही दिनमा आफैँ ठीक भएर जाने किसिमका हुने चिकित्सकहरू बताउँछन् । तीन-चार दिनसम्म पनि ज्वरो कम नभए चिकित्सकको परामर्श लिएर थप औषधी वा उपचार गर्नुपर्ने फोक्सो तथा क्रिटिकल केअर विशेषज्ञ पाण्डे बताउँछिन् ।
तर कतिपयलाई तीन-चार दिनभित्रै ज्वरो र रुघा निको भए पनि खोकी भने केही सातासम्म पनि रहन सक्ने उनी बताउँछिन् । “दुई हप्तासम्म पनि खोकी बसिरह्यो वा त्यसअघि नै पनि राम्रो हुनुको सट्टा झन् झन् खराब हुँदै गयो भने एकपटक डाक्टरलाई देखाउनुपर्छ,” पाण्डेको सुझाव छ ।
कतिपय मानिसहरूले भाइरल इन्फेक्सनमा पनि चिकित्सकको सल्लाह नलिइ एन्टिबायोटिक औषधी लिने गरेको भन्दै पाण्डे त्यसो नगर्न सल्लाह दिन्छिन् । “एन्टिबायोटिक नचाहिने बेला लियो भने फाइदा भन्दा पनि बेफाइदा हुन सक्छ । जुन तरिकाले औषधी पसलहरूबाट यत्तिकै लिएर एन्टिबायोटिक खाने चलन छ त्यो चाहिँ राम्रो होइन,” उनी भन्छिन् ।