सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायणखोलामा प्रहरीले आज शुक्रबार १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । अवैध रुपमा स्थानीयले लगाएको करिब १५ बिघाको गाँजा फडानी गरेर नष्ट गरिएको हो ।
गाँजा फडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली सहित स्थानीय प्रशासनका अधिकारीहरु नारायणखोला पुगेका थिए । अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत गाँजा फडानी गरिएको हो ।
गाँजा खेती लगाइएको स्थानको थप पहिचान गरेर अभियानलाई थप कडाइका साथ लागू गरिने स्थानीय प्रशासनको तयारी छ । प्रत्येक वर्ष प्रहरीले त्यस क्षेत्रमा गाँजा फडानी गरेको गरेको भएपनि स्थानीयले गाँजा खेती गर्न भने छाडेका छैनन् ।
सडकको राम्रो पहुँच नभएको दुर्गम चुरे क्षेत्रका स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती रोजेका हुन् । त्यस क्षेत्रमा भारतीय व्यापारीले स्थानीय किसानको जग्गा भाडामा लिएर गाँजा खेती लगाउने गरेका छन् ।