काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को मिनी अक्सनमा नेपाली खेलाडी नदेखिने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनै पनि नेपाली खेलाडी समावेश गरिएको छैन ।
यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी मात्र परेका छन् । अक्सनमा नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् । युएईको दुबईमा डिसेम्बर १९ मा हुने आइपिएल अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको छ ।
यस अक्सनबाट कुल ७७ खेलाडी बिक्रि हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ । अक्सनमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन् ।
यस्तै आईपीएल अक्सनमा नपरेपनि नेपाली क्रिकेट टोलीका १० खेलाडी पाकिस्तान सुपर लिग २०२४ को ड्राफ्टमा परेका छन् ।
पाकिस्तान सुपर लिगले जारी गरेको ड्राफ्ट लिष्टमा सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी ड्राफ्टमा परेका हुन् । पीएसएलको ड्राफ्ट बुधबार हुँदैछ ।
प्लेटिनममा बिक्ने खेलाडीले १ लाख ४८ हजार अमेरिकी डलर (१ करोड ४० लाख रुपैयाँ) पाउनेछन् । गोल्ड क्याटेगोरीमा बिक्ने खेलाडीले ३७ हजार ४ सय ३५ डलर (५० लाख रुपैयाँ) पाउनेछन् । सिल्भर क्याटेगोरीमा बिक्ने खेलाडीले १८ हजार अमेरिकी डलर (२५ लाख नेपाली रुपैयाँ) पाउनेछन् ।