वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले परवानीपुरस्थित चोकमा राखेको राँगाको प्रतिमा तोडफोड भएको छ । शनिबार परवानीपुरस्थित राँगाको प्रतिमा अज्ञात समूहले तोडफोड गरेको हो ।
त्रिभुवन राजमार्गमा पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकमा केही दिन पहिले महानगरले सौन्दर्यतालाई ध्यानमा राख्दै राँगाको प्रतिमा राखेको थियो । राँगाको प्रतिमा राखिएपछि उक्त स्थानमा राजनितिक दल र स्थानीयबासीहरुले त्यसलाई हटाउनु पर्ने माग गर्दै आएका थिए ।
पहिले हनुमान मन्दिर चोकको नामले परिचित रहेको स्थानमा राँगाको प्रतिमा राख्नु उचित नभएको भन्दै विरोध भएपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारले समेत त्यसलाई हटाउने प्रक्रिया सुरु भएको बताएका थिए ।
तर शनिबार राँगाको प्रतिमा तोडफोड भएको हो । राँगाको प्रतिमा तोडफोड गरेको आरोपमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । घटनाको सम्बन्ध अनुसन्धान भइरहेको छ ।