एजेन्सी । तौल घटाउन अर्थात् दुब्लाउनका लागि मानिसहरु खानपानमा विभिन्नि किसिमका परिवर्तन ल्याउँछन्, खाना (भात) खानै छोडिदिन्छन् । सामान्यतया मानिसहरु भातले मोटोपना बढाउने सोच्छन् । के साँच्चै भातले मोटोपना बढाउँछ त ? सेलिब्रेटी पोषणविद् रुजुता दिवेकर यी भनाइलाई अस्वीकार गर्छिन् । उनले आफ्नो इन्स्टाग्राममार्फत् भातसँग जोडिएको रोजक तथ्यहरु सेयर गरेकी छिन् ।
रुजुताका अनुसार भात नखानाले शरीरमा अत्यावश्यक पोषक तत्वको कमी हुन्छ र मानिसहरु छिट्टै बिरामी पर्ने सम्भावना बढ्छ । चामल धेरै थरीका पोषक तत्वले भरिपूर्ण हुन्छ । चामलले शरीरलाई भित्रैदेखि स्वस्थ र बलियो बनाउने उनको भनाइ छ । उनका अनुसार चामल एक प्रोबायोटिक हो । यसले पेट मात्रै भर्दैन, यसले पेटमा भएको राम्रो ब्याक्टेरिया पनि बढाउँछ । भातलाई दाल, तरकारी बाहेक अन्य परिकार बनाएर पनि खान सकिन्छ ।
जब तपाईँ दाल, दही, सब्जी, मासुका साथमा भात खानुहुन्छ, भातले ब्लड सुगरलाई स्थिर राख्ने काम गर्छ । यो सजिलै पच्छ र यो खाँदा पेट पनि हलुका रहन्छ । भात खाएपछि निन्द्रा पनि राम्रोसँग लाग्छ । साथै हर्मोनको सन्तुलन पनि राम्रो हुन्छ । विशेषगरी बढ्दो उमेरका बालबालिका र युवाले भात खान जरुरी छ ।
यस्तै भात छालाका लागि पनि फाइदाजनक छ । भात खानाले कपाल पनि राम्रो हुन्छ र छिट्टै बढ्छ ।