काठमाडौं । हामीलाई अरुको असफलता, गरिबी, अभावले दुःखी बनाउँछ । तर, त्यो भन्दा बढी दुःखी बनाउँछ, अरुको उन्नती, प्रगति, सफलताले । इष्या वा डाहा गर्नु एक मानविय स्वभाव एवम् प्रवृत्ति हो । हरेक मान्छेभित्र यो स्वभाव हुन्छ । यो प्राकृतिक कुरा हो ।
इष्या वा डाहाले मान्छेलाई दुई किसिमको नतिजा दिन्छ । एक सकारात्मक, अर्को नकारात्मक । इष्या आफैमा प्रगति एवम् उन्नतीको माध्यम बन्न सक्छ । अरुको सफलता, अरुको उन्तती देखेर आफूले पनि त्यस्तै गर्ने चाह जाग्छ । यसले मान्छेलाई निस्त्रिय रहन दिदैन । उनीहरु पनि केही गर्न खोज्छन्, अरुकै देखासेखीमा भएपनि । यस किसिमको इष्याभावले मान्छेलाई अगाडि बढ्न उक्साउँछ ।
अर्को किसिमको इष्या हुन्छ, जसले आफुलाई जलाउँछ । अरुको सफलता, अरुको खुसी, अरुको उन्नती देखेर हामी आफैभित्र खुम्चन्छौं । आफैभित्र जल्छौं । हाम्रो मन पोल्छ । यस किसिमको इष्याले अरुलाई होइन, हामी आफैलाई नष्ट गर्छ ।
इष्या, जो एक जन्मजान मानविय प्रवृत्ति हो । तर, यसलाई कसरी ग्रहण गर्ने भन्ने कुराले ठुलो फरक पर्छ । त्यही इष्याभाव, जसले हामीलाई अरुको जस्तै उन्नती गर्न उक्साउँछ । त्यही इष्याभाव, जसले हामीलाई भित्रभित्रै जलाउँछ ।
दोस्रो किसिमको इष्याभाव भयानक हुन्छ । र, अक्सर मान्छेले आफूभित्र यस्तै विकार पालेका हुन्छन् । यसलाई हामी इष्याभन्दा पनि डाहा भनेर बुझ्छौं । डाहा गर्नु भनेको अरुको उन्नती, सफलतामा रिस गर्नु हो ।
हामीभित्र जति सकारात्मक गुण एवम् प्रवृत्ति हुन्छ, उत्तिनै नकारात्मक पनि । कोही मान्छे यस्ता हुँदैनन्, जो सकारात्मक गुणले मात्र भरिपूर्ण होस् । मान्छेमा इष्या हुन्छ, डाहा हुन्छ, डर हुन्छ, रिस हुन्छ, आवेग हुन्छ, लोभ हुन्छ, घृणा हुन्छ । यी सबै कुरा त्यसबेला विकार बन्छ, जब हामी यसलाई बढी मलजल गर्छौं।
यदि मनभित्रका यी विकारलाई नियन्त्रण एवम् व्यवस्थापन गर्ने हो भने, त्यसले हामीलाई नकारात्मक होइन, सकारात्मक नतिजा दिन्छ । जसरी कुनै फोहोरमैलालाई मलखाँदमा रुपान्तरण गर्न सकिन्छ, नविकरणिय उर्जामा रुपान्तरण गर्न सकिन्छ ।
त्यसैले मनभित्रको विकारलाई हामीले पूर्णत निषेध गर्ने भन्दा पनि व्यवस्थापन गर्ने हो । तर, यस्ता विकार जति हामीभित्र जम्दै जान्छ, हामीले यी विकारलाई जति मलजल गर्दै जान्छौं, उत्तिनै हामी दुषित हुँदै जान्छौं । हामी भित्रभित्रै प्रदुषित हुँदै जान्छौ । र, त्यो हाम्रो व्यवहारमा प्रकट हुन थाल्छ । हामी रुखो हुन्छौं, उदण्ड हुन्छौं, अराजक हुन्छौं । यसले अन्ततः अरुलाई होइन, आफैलाई नष्ट गर्ने हो ।
कतिपय मान्छे हुन्छन्, जो अरुलाई होच्याएर बोल्छन् । अरुको जिउडाल, अवस्था, रुपरंग, पहिरन शैली, आर्थिक स्थिती, पारिवारिक स्थिती आदिलाई विषय बनाएर होच्याउँछन् । यसरी उसले होच्याएर कोही होचो वा कमसल हुने होइन ।
बरु, यसबाट के बुझिन्छ भने, उनीभित्र भयाकंर मानसिक विकार जमेको छ । ति व्यक्ति भित्रभित्रै जलेका छन् । कुष्ठाले कक्रिएका छन् । रिसले मुर्मुरिएका छन् । त्यही कारण उनी अरुलाई होच्याउँछन् । यसरी अरुलाई होच्याएर उसले आफ्नै मनलाई सान्तवना दिएका हुन् ।
त्यसैले अरुले रिस, इष्या एवम् डाहा गर्छ भने त्यस प्रति हामीले चासो लिइरहनु आवश्यक छैन । त्यसमा प्रतिक्रिया जनाइरहनु पनि आवश्यक छैन । आफू सही, सचेत र सकारात्मक हुनुपर्छ, कसैले केही गर्नै सक्दैन ।