झापा । झापाको दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । इलामको माङसेवुङ गाउँपालिका ४ घर भई हाल दमक नगरपालिका २ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरी आफ्नै ६० वर्षीया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार दिउँसो २ बजेको समयमा दमक २ स्थित मखमली टोलमा कृष्ण विश्वकर्माको घरमा बस्दै आएका धनबहादुरले घरायसी झगडाको क्रममा श्रीमती इन्द्रकुमारी माथि खुकुरी प्रहार गरेका थिए । टाउको एवम् शरीर भरि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना घटे लगतै इलाका प्रहरी कार्यालय दमकले खुकुरीसहित धनबहादुरलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।