सर्लाही । सर्लाहीको बरहथवामा एक जनाको मृत्यु हुने गरी भएको घटना छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन भएको हो ।
समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी छन् ।
समितिलाई अनुसन्धान प्रतिवेदन सात दिनभित्र बुझाउन भनिएको छ । यस्तै, सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको झडपमा एक जनाको मृत्यु भएको थियो । घटनापछि सर्लाही प्रशासनले उक्त क्षेत्रमा कर्फ्यू समेत लगाएको छ ।