रोल्पा । रोल्पामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी गाउँपालिका १ जयलखसेका ३२ वर्षीय भीमबहादुर बुढा रहेका छन् । उनले आफ्नी श्रीमती २८ वर्षीया मनकुमारी बुढाको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
मदिरा सेवन गरी शुक्रबार दिउँसो ३ बजे भीमबहादुरले घरको आगनमा श्रीमती मनकुमारीको घाँटीमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घटनास्थलमै मनकुमारीको मृत्यु भएको हो ।
भीमबहादुरलाई इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । बुढा दम्पत्तिका १२ वर्षीय छोरा र ५ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी छ ।