काठमाडौं ।
मोरङ, रंगेली नगरपालिका-७ बसपार्कस्थित सडकमा को.१ क १५२९ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-३ रंन्जनी बस्ने ५० वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । मंगलबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीका अनुसार महोत्तरी, गौशला नगरपालिका-३ स्थित सडकमा गौशालाबाट औरहीतर्फ जाँदै गरेको ज.४ प ३४२७ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही नगरपालिका-१ बस्ने ५२ वर्षीया राज कुमारी देवीको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-१३ माथील्लो रानिबासमा म.प्र.०४-००१ क ००५१ नम्बरको ट्रक र बा.९२ प ६५६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही हरिवन नगरपालिक-७ बस्ने ३० बर्षीय रिद्दि बहादुर मिरिङसिङको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
त्यस्तै गरेर रूपन्देही, ओमसतिया गाउँपालिका-१ ठुटीपिपलमा लु.१२ प ७१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-८ दिपनगर बस्ने २१ वर्षीय अमित पन्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।