स्वास्थ्यका लागि खानपानको मुख्य भूमिका हुन्छ । शरीरलाई आवश्यक पौष्टिक तत्त्व विभिन्न खानेकुराबाट प्राप्त हुन्छ । स्वस्थ रहन हरियो सागसब्जीको भूमिका महत्त्वपूर्ण हुन्छ ।
हरियो सागपातमा भिटामिन, खनिज पदार्थ जस्ता पोषक तत्त्व पाइन्छ । तर वर्षायाममा हरियो सागपात कम खानु भनिन्छ । यसो भन्नुको पछाडि विभिन्न कारण हुन्छन् । वर्षायाममा पानी तथा खानेकुराहरू फोहोर हुने र हावामा ओस बढ्ने गर्छ । यस मौसममा कीटाणु र ब्याक्टेरिया शरीरमा प्रवेश गरी बिरामी बनाउने सम्भावना पनि धेरै हुन्छ ।
हरियो सागपात प्रायः पानी जमेको ठाउँ वरपर फल्छन् । यसकारण यस्ता ठाउँमा धेरै प्रकारका ब्याक्टेरिया, भाइरस, फङ्गस, कीरा र अन्य जीवको वृद्धिका लागि उपयुक्त हुन्छन् । वर्षातमा सूर्यको किरण नहुँदा उनीहरू बढी सक्रिय रहन्छन् ।
यो मौसममा हरियो सागपात वर्षाको पानीको सम्पर्कमा आएका कारण विभिन्न कीटाणुको सम्पर्कमा आएर चाँडै बिग्रिन पनि थाल्छ । यी सूक्ष्म जीवहरू नाङ्गो आँखाले देख्न सकिँदैन ।
साथै वर्षातको मौसममा सागपातमा आँखाले देख्न नसकिने जुकाको अण्डा पनि विकास हुन्छ । सागपात माटोको सतहमा हुने भएकोले माटोमा हुने विभिन्न कीटाणु तथा अन्य जनावरको सम्पर्कबाट आउने कीटाणु हुने सम्भावना पनि हुन्छ । यस्तो अवस्थामा त्यस्ता सागपातलाई राम्ररी सफा नगरी, काँचै खाँदा शरीरमा प्रवेश गर्छन् ।
हामीले खाएको खानामा यदि जुकाको अण्डा रहेछ भने पेटमा पुगेर वयस्क जुकाको रूपमा परिवर्तन हुन्छन् । तिनीहरूले बाँच्न आन्द्रामा टाँसिएर रगत चुस्दा शरीरमा रगतको कमी हुनसक्छ । त्यसले गर्दा कालान्तरमा रक्त अल्पता हुनसक्छ ।
साथै वर्षायाममा यी दूषित सागपात खाँदा पेटसम्बन्धी रोग पनि लाग्न सक्छ । खानाको माध्यमबाट शरीरमा पुग्ने कीटाणुहरू खाने नली पेट रगत हुँदै दिमागसम्म पनि पुगेर विभिन्न स्वास्थ्य समस्या निम्ताउन सक्छ । वर्षातको मौसममा सागपात खाँदा स्वास्थ्यमा असर गर्छ कि गर्दैन भन्ने कुरा व्यक्तिको अवस्थामा भर पर्छ ।
यदि व्यक्ति वयस्क र स्वास्थ्य छन् भने उनीहरूको रोगप्रतिरोधात्मक क्षमता राम्रो छ भने उनीहरूमा समस्या नहुन सक्छ । तर मधुमेह, मिर्गौलाको समस्या, क्यान्सर लगायत दीर्घ स्वास्थ्य समस्या भएका व्यक्तिहरूको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसले गर्दा उनीहरूले यस्ता सागपात खाँदा सङ्क्रमणको जोखिम बढी हुने भयो ।
ध्यान दिनुपर्ने कुरा
–वर्षायाममा सागपात खाँदै नखाने भन्ने होइन । वर्षातको मौसममा हरियो सागसब्जी पकाउँदा र खाँदा केही कुरामा विशेष ध्यान दिनुपर्छ ।
–कुनै पनि खानेकुरा कति समय पकाउने वा कसरी पकाउने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । हरेक खानेकुरा पकाउने खास विधि र तौरतरिका हुन्छन् । उचित ढङ्गले निश्चित समयसम्म पकाएको खानेकुरामा भएको कीटाणुहरू मर्छ ।
–कीटाणुलाई मार्न हामीले सागपातलाई लामो समयसम्म पकाउने हो भने त्यसमा रहेका पोषक तत्त्व नष्ट हुन्छ यो कुरामा पनि ध्यान दिनुपर्छ । यस्ता खानेकुराले पेट त भरिन्छ तर शरीरलाई फाइदा पुग्दैन । त्यसैले हरिया सागसब्जी पकाउने सबैभन्दा राम्रो उपाय भनेको उसिन्नु हो । सागसब्जीलाई उसिनेर पकाउँदा यस्ता खानेकुरा छिटो पाक्नुका साथै यसमा भएका पोषक तत्त्व समेत नष्ट हुन पाउँदैन ।
–आफ्नै बारीमा तथा करेसा बारीमा सागपात फलाउने हो भने रासायनिक मलको प्रयोग कम गर्नुपर्छ । यसो गरियो भने रसायनको कारण स्वास्थ्यमा पर्ने असर पनि कम हुन्छ ।