काठमाडौं । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको संक्रमण पनि बढ्न थालेको हो । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ ।
डेङ्गु ज्वरो कसरी सर्छ ?
डेङ्गु एडिस नामक लामखुट्टेको टोकाइबाट सर्छ, जसले जिका र चिकनगुनिया जस्ता भाइरस पनि बोक्छ । लामखुट्टेले डेङ्गु ज्वरो भएको व्यक्तिलाई टोक्छ र त्यसपछि अरू कसैलाई टोक्छ, जसले गर्दा उनीहरू संक्रमित हुन्छन् । डेङ्गु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग होइन तर डेङ्गु गर्भवती महिलाबाट बच्चामा सर्न सक्छ ।
डेङ्गुको संक्रमण कसरी हुन्छ ?
डेङ्गुको भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन् स् एडिस एजिप्टी वा एडिस अल्बोपिक्टस । यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु को संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानव आवास र वरपर पाइन्छ । लामखुट्टेले डेङ्गु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ ।
त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यो व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ । डेङ्गु ज्वरो चार प्रकारका डेङ्गु भाइरस मध्ये कुनै एकको कारणले हुन्छ । संक्रमित व्यक्तिको वरपर बसेर डेङ्गु ज्वरो आउन सक्दैन बरु लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो सर्छ ।
डेङ्गु ज्वरोबाट निको भएपछि, तपाईंलाई संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेङ्गु ज्वरो भाइरस प्रकारहरूमा हुँदैन । यसको मतलब तपाईं भविष्यमा अन्य तीन भाइरस प्रकारहरू मध्ये एकद्वारा फेरी संक्रमित हुन सक्ने सम्भावना हुन सक्छ ।
दोस्रो, तेस्रो वा चौथो पटक डेङ्गु ज्वरो आएमा गम्भीर डेङ्गु ज्वरो आउने खतरा बढ्छ, त्यसैलै हामी डेङ्गु ज्वरोको बारेमा सतर्क रहन जरुरी छ ।
डेङ्गु ज्वरो छ आएको कसरी थाहा पाउन सकिन्छ ?
डेङ्गु ज्वरो छ कि छैन भनेर थाहा पाउनका लागि रगत परीक्षण गरिन्छ । तपाईंको नसाबाट लिइएको रगतको नमूना लिईन्छ र त्यसलाई डेङ्गु भाइरसको लक्षणहरू हेर्न प्रयोगशालामा पठाईन्छ । रगत परीक्षणबाट तपाई डेङ्गु भाइरसबाट प्रभावित हुनुहुन्छ कि हुनुहुन्न भन्ने जानकारी पाउन सकिन्छ ।
डेङ्गु ज्वरोको उपचार कसरी गरिन्छ ?
डेङ्गु ज्वरोको उपचार गर्ने कुनै खास औषधि हुँदैन । यो रोग लागेको खण्डमा हामीले आफ्नो लक्षणहरू व्यवस्थापन गर्नुपर्छ र गम्भीर लक्षणहरु देखापरेमा तुरुन्तै डाक्टर कहाँ वा तुरुन्तै आपतकालीन कक्षमा जानुपर्छ ।
डेङ्गु ज्वरोबाट कसरी बच्ने ?
लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको संख्या नियन्त्रण गर्नु नै डेङ्गु ज्वरो फैलिनबाट रोक्ने मुख्य उपाय हो । डेङ्गुको भाइरस बोक्ने लामखुट्टे बिहानदेखि साँझसम्म सक्रिय हुन्छन् र रातमा पनि टोक्न सक्छन् । त्यसैले यस भाइरसबाट बच्न हामीले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।
विशेष गरी लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्ने गर्नुपर्छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन ।
डेङ्गुबाट बच्नको लागि डेङ्गुको खोप पनि प्रयोग गर्न सकिन्छ । तर डेङ्गुको भ्याक्सिन पहिले नै डेङ्गु भएको व्यक्तिहरुलाई मात्र सिफारिस गरिन्छ । यसले भविष्यमा डेङ्गु भाइरसको फरक संस्करणले गर्दा डेङ्गु लागेको खण्डमा गम्भीर डेङ्गु (डेङ्गु हेमोरेजिक फिभर) को जोखिम कम गर्न सक्छ ।